जनैको परिचय र महत्व
हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुतीको धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।
जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाइन्छ,
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।
-अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए । त्यही बन्धनले तपाईँको हातमा पनि बाँधिदिएको छु । तपाईँको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवन अवधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन्। त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिकोलागी अन्य व्यक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै:- जनै धारण गरेको व्यक्ति हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउन्जेलसम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ। जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुसारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणीक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुँदैन , ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। शुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पूर्णिमाको दिन वैदिक मन्त्रद्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ ।
Comments
Post a Comment